
बर्दिया, असार १६। युवाहरूलाई लागुऔषध दुर्व्यसनबाट जोगाई स्वस्थ, अनुशासित र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय, राप्ती उपत्यका (देउखुरी), नेपालको आयोजनामा “युवाहरूलाई लागुऔषध न्यूनीकरण सम्बन्धी सचेतनात्मक तालिम” सुरु भएको छ।
ठाकुरबाबा नगरपालिका–९ स्थित समर्थ बर्दिया एडभेन्चर रिसोर्टमा आयोजित तालिमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननीय सन्तोष कुमार पाण्डेले व्यानर वाचन गरी गर्नुभयो। कार्यक्रम मन्त्रालयका उपसचिव विष्णु प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो भने मोहम्मद साजिद खाँले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पाण्डेले देशले हाल बेहोरेका विभिन्न सामाजिक तथा मानवीय क्षतिहरूमध्ये लागुऔषध दुर्व्यसन पनि एउटा गम्भीर कारणका रूपमा रहेको बताउनुभयो। राष्ट्रका होनहार युवायुवतीलाई लागुऔषधजस्तो कुलतबाट बचाउन युवाहरू आफैँ सचेत र अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
मन्त्री पाण्डेले बेरोजगारीको मारमा परेका धेरै युवाहरू दिनप्रतिदिन लागुऔषधको दुर्व्यसनमा फस्दै गएको भन्दै यस समस्याको समाधानका लागि परिवार, विद्यालय, स्थानीय सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवाला निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य अम्बिका काफ्ले, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, ठाकुरबाबा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लगायतले मन्तव्य व्यक्त गर्दै लागुऔषधविरुद्ध सबै तहबाट अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
तालिममा प्रशिक्षक गोपीन्द्र बुढामगरले लागुऔषध दुर्व्यसनका कारण, त्यसका सामाजिक, मानसिक, आर्थिक तथा स्वास्थ्यमा पर्ने असर, कानुनी व्यवस्था र रोकथामका उपायबारे सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमको प्रारम्भ राष्ट्रिय गानबाट गरिएको थियो भने शाखा अधिकृत ओमभक्त थापाले कार्यक्रमको उद्देश्यसहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
तालिममा ठाकुरबाबा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, पत्रकार, मन्त्रालयका कर्मचारी तथा करिब ८० जना युवायुवतीको सहभागिता रहेको आयोजकले जनाएको छ। युवाहरूमा सकारात्मक सोच, आत्मविश्वास र लागुऔषधविरुद्ध सामाजिक अभियान विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम केही दिनसम्म सञ्चालन हुने जनाइएको छ।




