
बाँके ।
प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार खगेन्द्र सुनारले दिएको अभिव्यक्तिविरुद्ध जिल्ला निर्वाचन कार्यालय बाँकेमा उजुरी दर्ता गरिएको छ ।
सनातन धर्मावलम्बीहरूको आस्थासँग जोडिएको तथा नेपाल र नेपालीको शान मानिने राष्ट्रिय जनावर गाईका विषयमा उम्मेदवार सुनारले दिएको अभिव्यक्तिले बहुसंख्यक सनातनीहरूको भावना आहत भएको भन्दै उजुरी दर्ता गरिएको हो । उजुरीकर्ताहरूले उक्त अभिव्यक्ति केवल ध्यानाकर्षणको विषय मात्र नभई धार्मिक आस्था र राष्ट्रिय चिन्हको अपमान भएको दाबी गरेका छन् ।
संविधानले संरक्षण गरेको राष्ट्रिय जनावर गाईलाई काटेर खानुपर्ने अभिव्यक्ति संविधान विपरीत भएको उल्लेख गर्दै यस्ता अभिव्यक्ति दिने व्यक्ति देशको हितमा काम गर्न सक्षम हुन्छ भन्नेमा गम्भीर शंका उत्पन्न भएको उजुरीमा उल्लेख गरिएको छ ।
त्यसैगरी, गाईलाई मातावत् पूजनीय मान्ने सनातन धर्मावलम्बीहरूको भावना कुल्चिने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारको उम्मेदवारी तत्काल खारेज गरी नियमानुसार कडा कारबाही गर्न माग गरिएको छ ।
उजुरीमा हिन्दु जागरण नेपाल जिल्ला अध्यक्ष कैलाली टंक बहादुर देउवा, सदस्य दिल बहादुर शाही तथा सनातनी अर्जुन जंग शाह सहित सनातनी धर्मावलम्बीहरूको टोलीले हस्ताक्षर गरेका छन् ।




