
“सेवाभन्दा ठूलो धर्म केही हुँदैन” भन्ने भावनालाई आत्मसात गर्दै बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिबेक कुमार श्रेष्ठ नीलसागर सेवाश्रम पुग्नुभएको छ। सेवाश्रममा आश्रित बुबा–आमा तथा बालबालिकालाई उहाँले आत्मीयतासाथ खाना खुवाउँदै मानव सेवामा सहभागी हुनुभएको हो।
सानो सहयोग भए पनि माया, सम्मान र आत्मीयताले भरिएको यो क्षणले मानवता नै सबैभन्दा ठूलो मूल्य हो भन्ने कुरा झनै प्रस्ट भएको श्रेष्ठले बताउनुभयो। सेवाको भावनाबाटै समाज र देशमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै उहाँले निरन्तर सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धता पनि जनाउनुभयो।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट घण्टी चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराएसँगै श्रेष्ठ हाल घरदैलो कार्यक्रम तथा समाजसेवामा निरन्तर खटिँदै आउनुभएको छ।
पछिल्लो समय नेपालगन्ज तथा बाँके क्षेत्र नम्बर २ मा घण्टी चुनाव चिन्हप्रति जनसमर्थन बढ्दै गएको उहाँको भनाइ छ। घण्टीमा मतदान गरी रास्वपाको सरकार बनाएर देशमा परिवर्तन ल्याउने आशा, भरोसा र दृढ संकल्प जनतामा देखिएको श्रेष्ठले बताउनुभयो।





