
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको आयोजना गरिएको वडा कार्यक्रम तथा भेलाले उत्साहजनक रूप लिएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गर्दै ७८ जना स्थानीय नागरिक राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रास्वपा बाँके, नेपालगञ्ज नगर सभापति नवीन खड्का तथा विशिष्ट अतिथिका रूपमा रास्वपा बाँके क्षेत्र नम्बर २ का उम्मेदवार विवेक श्रेष्ठको उपस्थिति रहेको थियो। भेलामा सहभागी स्थानीयवासीहरूले “अबको पार्टी, अबको सरकार रास्वपा” भन्ने नारासहित पार्टीप्रति विश्वास व्यक्त गर्दै रास्वपामा प्रवेश गरेका हुन्।
“रास्वपा हाम्रो, रास्वपा राम्रो” भन्ने नाराका साथ पार्टी प्रवेश गरेका नवप्रवेशी ७८ जनालाई बाँके क्षेत्र नम्बर २ का उम्मेदवार विवेक श्रेष्ठले टीका तथा खादा लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले देशभर सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा रास्वपाप्रति जनसमर्थन बढ्दै गएको बताउनुभयो। आफू युवा पुस्ताको प्रतिनिधिका रूपमा भ्रष्टाचार न्यूनीकरण तथा अन्त्य गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र बाँकेको समग्र विकासका लागि निर्णायक भूमिका निर्वाह गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको उहाँको भनाइ थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले परम्परागत राजनीतिक शैलीभन्दा फरक, नागरिककेन्द्रित राजनीति, स्वच्छ शासन र परिणाममुखी विकासलाई मूल एजेन्डा बनाउँदै देशव्यापी रूपमा संगठन विस्तार गरिरहेको छ। नेपालगञ्ज–६ मा देखिएको यो जनलहरले आगामी निर्वाचनमा रास्वपाको भूमिका अझ सशक्त बन्ने संकेत दिएको स्थानीयले बताएका छन्।




