
नाग पञ्चमी हरेक वर्ष सावन शुक्ल पञ्चमीको दिन हामी नाग देवतालाई सम्झदै पूजा अर्चना गर्दछौ । पौराणिक कथन अनुसार राजा परिक्षितको तक्षक नागले डसेर मृत्यु भएपछि उनका छोरा जन्मजेयले संसारमा भएका सम्पूर्ण नागको नास गर्न बिशाल सर्प यज्ञ गरेका थिए । यसरी सम्पूर्ण जातीको नै नास हुन लागे पछि बासुकी नागले आफ्नी बहिनीको सहायताले भाञ्जा आस्तिकलाई ब्रम्हासंग कुरा गर्न पठाउँछन् ।
ब्रम्हाले जन्मजेयलाई सम्झाइ बुझाइ गरेपछि सर्प यज्ञ रोकेर सर्प जातीसंग क्षमा मागेर पूजा गर्दछन् । यहि यज्ञ रोकेर सर्प जातीसंग क्षमा मागी पूजा अर्चना गरेको सावन महिनाको शुक्ल पञ्चमी भएको हुँदा यसै दिन देखी सम्पूर्ण जातीले पनि सर्प तथा नागको पूजा अर्चना गर्न थालनी भयो भन्ने हाम्रा आख्यानहरुमा लेखिएको छ । कथा जे जस्तो भए पनि नाग तथा सर्पलाई हामीले एक दिन सम्झेर नाग पूजा गर्दछौ । नागको आठ कुल अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागलाई एकसाथ पूजा गर्दछौ ।
नागको चित्रअंकित तस्विरमा लेखिएको हुन्छ । अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एवं च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते बज्रवारका: ।। मुने कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्नि भयं नास्ति लिखितं गृहमण्डले ।। अनन्तो वासुकि पद्मो महापद्मश्च तक्षक: । कुलिर: कर्कट: शंखश्चाष्टौ नागा: प्रकीर्तिता: ।। अष्ठकूलका आठ नागलाई सम्झदै अगस्त्य, पुलत्स्य र वैपश्पायन ऋषीलाई पूकार्दै घरमा अग्नि बिद्युत बज्रपातबाट मुक्ति गराउन आह्वान गरिन्छ । अष्ट नागको चित्रअंकित तस्विरलाई घरको मूल ढोका माथी गोवरले टाँसेर नागलाई मन पर्ने दुध, लावा, दुबो, अक्षताले पूजा गरेर फलफूल चढाउछौ । नाग वर्षातको पनि भगवान हुने मान्यताले गर्दा यसरी पूजा गर्दा चट्याङको बज्रपात नपर्ने, सर्पदंश तथा अन्य भय पनि नरहने विश्वासको साथ पूजा गर्ने प्रचलन छ ।
हाम्रा हिन्दू आख्यानहरुले दैवी शक्तिका कथाहरु बनाएर देवभक्ति जगाउने गर्दछ । जसले गर्दा हामी वास्तविकता भन्दा धेरै पर हराएका हुन्छौ । नागका अनन्त (शेषनाग), बासुकी, पद्म, महापद्म, तक्षक आदि नागका जुन चर्चा हुन्छ । वास्तवमा यी नागराजाहरुका नाम हुन । बिक्रमको दोश्रो शताव्दी तिर हालको काश्मिर देखि नागालैण्डसम्मको उत्तरी भूभागमा नागवंशको राज्य थियो । यसबाहेक पनि बिभिन्न राज्यमा नागवंशको राज्यहरु थिए । हालका नागपुर, नागालैण्ड, अनन्तनाग, शेषनाग, नागदह, भाग्सुनाग आदि यसै कारणले बनेका नामहरु हुन् । यस किसिमका नागसंग जोडिएका बिभिन्न नामहरुले नागवंशको इतिहास बुझाउने गर्दछ । तर हाम्रा आख्यानहरुले नागवंशका बिभिन्न राजाहरुलाई सर्पको एक प्रकारका रुपमा चिनाउने गर्दछ ।
यी घस्रिएर हिड्ने जीव नै हुन भन्ने देखाउन लिच्छवी कालदेखी नै सर्पाकृति भएका मुर्तिहरु मनग्गे बनाइएको भेटिन्छ । सबैभन्दा बढि नागका बिभिन्न किसिमका मुर्तिहरु मल्लकालमा बनाइएको पाउँछौ । नागलाई पानीसंग गाँसिएको पनि पाउँछौ । यो मल्लकालमा अत्यधिक देखिन्छ । हरेक पानीका पोखरीहरुमा नागको आकृति बनाइएका थिए । यी नागहरुका शक्तिले पानीको कमि नहुने विश्वास गरिन्थ्यो । यसैले नै नागपञ्चमी पनि बर्षातकै मौसममा मनाउने परम्परा रहेको छ ।
नागपञ्चमी मल्लकाल देखि नै मनाइएको प्रतित हुन्छ । नागनागिनका चित्रहरु तथा नागको आसनमा विष्णु भगवान रहने लिच्छवी कालमा नै प्रचलित थियो । यसैंले नै बुढानीलकण्ठको मुर्तिमा बिशाल नागको आकृतिमा बिष्णु भगवान शयन गरेको देख्न पाउँछौ । नाग पूजा गर्दा अचेल अत्याधुनिक रूपले बिभिन्न नागको तस्विर अंकित फोटोहरू घरका भित्तामा टासेर पूजा गर्दछौ । तर पहिले पहिले यसरी नागको आकृती छापिएका फोटोहरू पाइदैनथ्यो । हातले कोरिएका चित्रहरु चित्रकारहरुले बनाएर सडकमा बेच्न राखिएका हुन्थे । यि तस्विरहरुमा संस्कृतका श्लोकहरु लेखिएको निकै कम हुन्थे । यहाँ राखिएका मल्लकालतिर पूजा गरिने नाग चित्रहरुमा एक चित्रमा मात्र अगस्त्यश्च पुलस्त्यश्चको श्लोकको पहिलो चरण देख्न सकिन्छ । दोश्रो अष्टनाग बनाइएको पनि देखिदैन । नागनागिनी साथ साथ रहेको भने हामी पाउँछौ ।




