
सरकारले दैलेखबाहेक देशका १० स्थानमा पहिचान गरिएका पेट्रोलिअम पदार्थ रहेका सम्भावित स्थानहरूमा भने पछिल्लो समय अन्वेषणको कुनै गतिविधि नगरेको अधिकारीहरूले बताएका छन्।
दैलेखमा गरिएको अन्वेषणका क्रममा प्राकृतिक ग्यासको भण्डारण रहेका सङ्केतहरू भेटिएपछि सरकारले त्यसको परीक्षण र व्यावसायिक उत्पादनको योजना बनाइरहेको छ।
पश्चिमको धनगढीदेखि पूर्वको विराटनगरसम्मका चुरे क्षेत्रमा पेट्रोलिअम पदार्थको भण्डारण रहेको हुन सक्ने सङ्केत ४५ वर्ष अघि गरिएका अध्ययनहरूले नै देखाएका थिए। थप अध्ययनपछि पेट्रोलिअम भण्डारणका सम्भाव्य स्थानलाई १० खण्ड अर्थात् क्लस्टरमा विभाजित गरेको थियो।
अध्ययन र अन्वेषणका लागि त्यसमध्ये कतिपय स्थानहरूको जिम्मा विभिन्न विदेशी कम्पनीहरूलाई जिम्मा दिइए पनि काम परिणामुखी हुन नसकेको अधिकारीहरूले बताएका छन्।
विसं २०३६/३७ सालमा अन्तर्राष्ट्रिय विकास संस्था विश्व ब्याङ्कको प्राविधिक सहयोगमा फ्रान्सको भूगर्भसम्बन्धी कम्पनी सीजीजीले नेपालको दक्षिणी भूभागको ४८,००० वर्ग किलोमिटर क्षेत्रमा ‘एरोम्याग्नेटिक’ सर्वेक्षण गरेको थियो।




