
खजुरा, बाँके । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको “मन्त्रालयलाई २४ सै घण्टा अस्पताल सफा भएको फोटो र भिडियो चाहिन्छ। कर्मचारी कति बजे आए, कति बजे गए भन्ने हाजिरीको रिपोर्टिङ चाहिन्छ। हामीले त्यो गरिरहेकै छौँ। तर, पश्चिम नेपालका हजारौँ क्यान्सर बिरामीको ज्यान बचाउने २५ करोडको लिन्याक (LINAC) मेसिन थन्किँदा त्यसलाई बनाउने बजेट र जनशक्ति खोइ भनेर सोध्दा केन्द्र सरकार कानमा तेल हालेर बस्छ। के अस्पताल भनेको बिरामी निको पार्ने ठाउँ हो कि सफा गरेर फोटो खिच्ने स्टुडियो?”
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका डा. सबिन अधिकारीले आक्रोश र बाध्यता मिसाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ।
अस्पतालमा जडान गरिएको अत्याधुनिक रेडियोथेरापी (सेकाइ) मेसिन ‘लिन्याक’ बिग्रेर थन्किँदा पश्चिम नेपालका तीनवटा प्रदेश (लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) का क्यान्सर बिरामीहरू अलपत्र परेका छन्। यसबारे मन्त्रालयको ध्यान कति संवेदनहीन छ भन्ने कुरा डा. अधिकारीको यो भनाइले प्रष्ट पार्छ।
“कागजी प्रक्रियामै महिनौँ बित्छ, बिरामीको छटपटी कसले हेर्ने?”
डा. अधिकारीका अनुसार लिन्याक मेसिन अत्यन्तै संवेदनशील प्राविधिक उपकरण हो। यसको मर्मतका लागि नेपालमा प्राविधिक उपलब्ध छैनन् र आवश्यक सामानहरू विदेशबाटै मगाउनुपर्छ।
“मेसिन बिग्रिएकै दिनदेखि हामीले मन्त्रालयमा बजेट र मर्मतको स्वीकृतिका लागि पत्राचार गरिरहेका छौँ। तर, केन्द्रको ब्युरोक्रेसी (कर्मचारीतन्त्र) लाई बिरामी छटपटिएको भन्दा कागजी प्रक्रिया र ‘हाजिरी टिक्ने’ कुरा मात्र ठूलो लागेको देखिन्छ। बजेट निकासा र खरिद प्रक्रियाको प्रशासनिक झमेलाका कारण मेसिन मर्मतमा ढिलाइ भएको हो,” डा. अधिकारीले भन्नुभयो।
क्यान्सर रजिस्ट्रीमै छैन केन्द्रीय अस्पताल!
आफ्नो अस्पताललाई संघीय सरकार मातहतको ‘केन्द्रीय क्यान्सर अस्पताल’ भनिए पनि राज्यले चरम उपेक्षा गरेको डा. अधिकारीको गुनासो छ। “अचम्मको कुरा त के छ भने, यो अस्पताल अहिलेसम्म देशको राष्ट्रिय क्यान्सर रजिस्ट्री (Cancer Registry) मा समेत समेटिएको छैन। जबसम्म अस्पताललाई तथ्याङ्क प्रणालीमा पूर्ण रूपमा स्वीकार गरिँदैन, तबसम्म दरबन्दी र बजेट सधैँ यस्तै तदर्थ (Temporary) अवास्थामा चल्छ,” उहाँले थप्नुभयो।
सेवा अवरुद्ध हुँदा निर्देशक नै मर्माहत
अस्पताल सफा राख्नु र अनुशासन कायम गर्नु आफ्नो पनि प्राथमिकता भएको तर मुख्य मेसिन नै नचलेपछि त्यो सफाईको कुनै अर्थ नहुने उहाँ स्वीकार गर्नुहुन्छ। डा. अधिकारी भन्नुहुन्छ, “दैनिक रूपमा बिरामीहरू सेकाइ गर्न नपाएर चितवन वा काठमाडौँ रेफर हुनुपर्दा वा पैसा नभएर घर फर्किनुपर्दा सबैभन्दा बढी पीडा मलाई र यहाँका चिकित्सकहरूलाई हुन्छ। तर, जबसम्म स्वास्थ्य मन्त्रालयले यस्ता ठूला प्राविधिक उपकरणको ‘मेन्टेनेन्स बजेट’ सिधै अस्पताललाई दिँदैन, तबसम्म यो समस्या आइरहन्छ।”
प्रशासनिक सुशासनका नाममा केवल ‘सरसफाई र हाजिरी’ को सस्तो लोकप्रियतामा रमाइरहेको स्वास्थ्य मन्त्रालयलाई डा. अधिकारीको यो कडा बयानले ऐना देखाइदिएको छ। अब प्रश्न उठ्छ– मन्त्रालयलाई अस्पतालको भुइँ चम्किएको चाहिएको हो कि बिरामीको अनुहारमा खुसी?


