
नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गत शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र, नेपालगन्ज–४ गणेशपुरले नसर्ने रोगको पहिचान तथा व्यवस्थापनका लागि एक महिने निःशुल्क स्वास्थ्य स्क्रिनिङ क्याम्प सञ्चालन गरिरहेको छ।
अखाद्य खानाको बढ्दो सेवन, अस्वस्थ जीवनशैली, शारीरिक निष्क्रियता, जोखिमपूर्ण व्यवहारजस्तै धूम्रपान, मद्यपान, खैनी, चुरोट, बिडी लगायतको निरन्तर प्रयोग, विलासितामय जीवनशैली, मानसिक तनाव तथा विभिन्न रासायनिक पदार्थको सम्पर्कका कारण समुदायमा नसर्ने रोगहरू दिनप्रतिदिन भयावह रूपमा बढ्दै गइरहेका छन्।
नसर्ने रोगअन्तर्गत मुटुजन्य रोगहरू (कोरोनरी मुटुरोग, हृदयघात, उच्च रक्तचाप), विभिन्न प्रकारका क्यान्सर, स्वासप्रश्वास प्रणालीसम्बन्धी रोगहरू (COPD, दम) तथा मधुमेह (सुगर) प्रमुख रूपमा देखिन्छन्। यस्ता रोगका कारण मानिसमा दीर्घकालीन स्वास्थ्य समस्या, शारीरिक अंगमा स्थायी असर, अपाङ्गता, सामाजिक तथा आर्थिक निष्क्रियता र मृत्युसम्मको जोखिम रहने गर्दछ।

स्वास्थ्य तथ्यांकअनुसार नेपालमा हुने कुल मृत्युको करिब ७१ प्रतिशत कारण नसर्ने रोगहरू रहेको पाइन्छ।
यी रोगहरूको रोकथाम तथा व्यवस्थापनका लागि स्वस्थ जीवनशैली अपनाउनुपर्ने, अखाद्य वस्तुहरूको सेवनबाट निरुत्साहित हुनुपर्ने, दैनिक रूपमा हरियो सागसब्जी र फलफूलको नियमित सेवन गर्नुपर्ने, बजारका पत्रु खाना नखाने, कम्तीमा ३० मिनेट योग, ध्यान तथा व्यायाम गर्ने, मानसिक तनाव कम गर्ने तथा प्रदूषण, कोलाहल र रासायनिक पदार्थबाट टाढा रहने विषयमा जनचेतना अभिवृद्धि गरिँदै आएको छ।
सोही उद्देश्यअनुसार सञ्चालन गरिएको स्क्रिनिङ क्याम्पमा सेवाग्राहीहरूको निःशुल्क सुगर परीक्षण, रक्तचाप मापन, उचाइ र तौलका आधारमा BMI जाँच, मूत्र परीक्षण (Urine Test) लगायतका स्वास्थ्य परीक्षणहरू गरिँदै आएको छ।
कार्यक्रमअनुसार आज वडा प्रहरी कार्यालय नेपालगन्ज–४ मा कार्यरत कम्तीमा १०० जना प्रहरी जवानहरूको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणपछि उनीहरूलाई आवश्यक स्वास्थ्य सल्लाह तथा सुझाव प्रदान गरिएको शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रका आयुवेर्द डा. शिवराज सुवेदीले जानकारी दिनुभएको छ।




