
पुर्व प्रहरी कर्मचारीहरूको एकता, सद्भाव, सहकार्य र मित्रता भन्ने मूल नाराका साथ नेपाल पूर्व प्रहरी संगठन बाँके, नेपालगन्जको ३२ औं संस्थागत वार्षिक उत्सव आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष तथा पूर्व प्रहरी निरीक्षक गंगा बहादुर अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि जोशीले पूर्व प्रहरीहरूले देश र समाजप्रति अझ बढी जिम्मेवारीबोधका साथ योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । “पूर्व प्रहरीहरू अन्य नागरिकभन्दा बढी जिम्मेवार हुनुपर्छ । हामीले जहिल्यै पनि शान्ति, सुरक्षा र अमनचयनमा ख्याल गर्नुपर्छ,” प्रजिअ जोशीले भन्नुभयो, “देशको अहित हुने कुनै पनि कार्यमा संलग्न हुनु हुँदैन ।
उत्सव समारोहमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तिमगर, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद कुमार रिजाल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्र जोशी, पूर्व प्रहरी संगठन बाँकेका सल्लाहकार सुर्य बहादुर केसी लगायत कार्यसमिति सदस्य, आजीवन सदस्य तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
संगठनका अध्यक्ष गंगा बहादुर अधिकारीका अनुसार संगठनमा हाल ५२८ जना आजीवन सदस्य र ४ हजार हाराहारीका सदस्यहरू आवद्ध छन् । उनले संगठनले सदस्यहरूका परिवारलाई आवश्यकतानुसार विभिन्न प्रकारका सहयोग गर्दै आएको जानकारी दिनुभयो । हालैको निर्णयअनुसार संगठनले आफ्ना सदस्यका छोरीहरूको विवाहमा ५० हजार रुपैयाँको अनुदान सहयोग दिने नीतिगत व्यवस्था समेत गरिसकेको छ । कार्यक्रमको सञ्चालन पूर्व प्रहरी निरीक्षक अरुण कुमार सिंहले गर्नुभएको थियो ।





