
बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा नेपाल मगर संघ गाउँपालिका समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनबाट नन्दबहादुर थापा मगर अध्यक्षमा चयन भएका छन्। यस्तै उपाध्यक्षमा सुवास जिएम, सचिवमा दिपा थापा मगर, कोषाध्यक्षमा सुस्मिता थापा मगर तथा सह–सचिवमा रोशन थापा मगर चयन भएका छन्। सदस्यहरूमा नन्दलाल बुढा मगर, देवराज थापा मगर, सविता थापा मगर, चन्द्रबहादुर वाकाबल मगर लगायत गरी जम्मा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र पुन मगरले मगर समुदायको हक, अधिकार, पहिचान र समृद्धिका लागि संगठित भएर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।
अतिथि राजन राना मगरले मगर समुदाय ऐतिहासिक रूपमा योगदानशील भए पनि पछाडि पारिँदै आएको उल्लेख गर्दै अब समयअनुसार एकजुट भई शिक्षा, राजनीति, सामाजिक तथा आर्थिक क्षेत्रमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले संगठन बलियो भए मात्र समुदायको आवाज सशक्त बन्ने धारणा राखे।
बैजनाथ गाउँपालिकाका सबै वडाबाट मगर संघका वडा अध्यक्ष तथा सचिवहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न अधिवेशनले संगठनलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरिएको छ। अधिवेशनले आगामी दिनमा मगर समुदायको एकता, पहिचान संरक्षण तथा विकासका लागि सक्रिय रूपमा काम गर्ने निर्णय समेत गरेको छ।




